Tuesday, August 9, 2011

वायरलेसले जोडेको गाउँ

वायरलेसले जोडेको गाउँ | सूचना प्रविधि | ekantipur.com

काठमाडौ, श्रावण २१ - म्याग्दी- इन्टरनेट प्रविधिको दुनियाँमा पछिल्लोपटक भित्रिएको रोमाञ्चकारी प्रविधि हो, वायरलेस नेटवर्किङ । १० वर्षअघि महावीर पुनको अगुवाइमा जिल्लाको उत्तर-पूर्वी डाँडो महरेमा ७५ किमि परको पोखराबाट ताररहित इन्टरनेट दुर्गम बस्ती छिरेको थियो ।

सूचना र सञ्चारको माध्यमबाट ग्रामीण जीवनमा सामाजिक र आर्थिक रूपान्तरण गर्ने लक्ष्यसहित सञ्चालन गरिएको ताररहित इन्टरनेट सञ्जाल महावीरको नेतृत्वमा १३ जिल्लामा विस्तार भएको छ । म्याग्दी जिल्लाका २४ गाविसका ४० बढी विद्यालयमा सञ्जाल फैलिएको छ । सन् २००१ मा बीबीसीमा महावीरको इमेल वार्ता प्रकाशित भएपछि सुरु भएको हो, हिमाली बस्तीमा ताररहित इन्टरनेट अभ्यास । र यो प्रविधिलाई दुर्गम बस्तीमा भित्र्याउन बेल्जियमका जोहाज र फिनल्यान्डका जोनीको योगदान महत्त्वपूर्ण छ । पुनको इमेल वार्तालाप पढेपछि यी विदेशी तन्नेरीहरूमध्ये फिनल्यान्डका जोनीले वायरलेस नेटवर्क कार्डलाई पहिलोपटक नागी ल्याई अभ्यास गरेका थिए । जुन लामो अभ्यासपछि सफलता मिल्यो । उनले नै नेपाल वायरलेस नेटवर्कको वेभसाइट सञ्चालनमा आर्थिक सहयोगसमेत गरे ।

घर वा कार्यालयमा वायरलेस नेटवर्क सजिलै जडान गर्न सकिन्छ । दुइटा पीसी वायरलेस नेटवर्कले जोड्न सक्नुहुन्छ । यस प्रविधिलाई ८०२.११ बी भनिन्छ । सन् २००२ मा नागी र पारीपट्टिको राम्चे गाउँमा यही प्रविधिमा अभ्यास गरिएको हो । वायरलेस नेटवर्कमा इन्प|mारेड, ब्लु टुथको प्रयोग गरिन्छ । वायरलेस प्रविधिले देशका बस्ती-बस्तीलाई जोड्ने प्रयास भइरहेको छ । ८०२.११ बी स्ट्यान्डर्डको अधिकतम क्षमतामा स्पिड र रेन्ज दुवै बढाएर पोखराबाट म्याग्दीको नागीसम्म ताररहित इन्टरनेट ल्याइएको हो । परीक्षणकालमा ताररहित इन्टरनेट सञ्चालन गर्न टेलिभिजनका डिसएन्टेना, स्थानीय गाउँमा फालिएका सिलट र स्टिलका सामग्रीहरूको प्रयोग गरेको थियो । वायरलेस नेटवर्कमा एक्सेस प्वाइन्टलाई एकै रुट र हवमा जोडिएको हुन्छ । यसरी नेटवर्क गरिएको वायरलेस इन्टरनेटलाई विभिन्न गाउँमा नेटवर्किङ सफ्टवयरमा नम्बर राखेर वितरण गरिएको छ ।

'१० वर्षलाई फर्केर हेर्दा आफैं रोमाञ्चक हुन्छु । सूचना र सञ्चारको माध्यमले ग्रामीण जीवनको सामाजिक र आर्थिक रूपान्तरण गर्ने मेरो अभियान जारी छ । यही बीचमा स्थापना गरेको ताररहित इन्टरनेट देशका १३ जिल्लामा पुग्यो । म्याग्दीका २४ गाविसमा विस्तार छ । यो १० वर्ष ताररहित इन्टरनेट र कम्प्युटर शिक्षाको सामाजिक प्रभावबारे अध्ययन गर्न फुर्सद पाएको छैन । मलाई थाहा छ, गाउँलेहरू कम्प्युटर नपढे पछि परिन्छ भन्ने चेतना राख्छन्', नेपाल वायरलेस नेटवर्कका संस्थापक महावीरले सुनाए ।

बस्ती-बस्तीमा ताररहित इन्टरनेट पुगेपछि बिहान गाई/भैंसी गोठमा भकारो सोहर्दै र बेलुकी घाँसपात गर्दै हुर्केका गाउँले किशोरहरूमा विस्तारै कम्प्युटर 'क्रेज' पनि बढ्दै गएको छ । इन्टरनेटमा सहज पहुँचले दुर्गमका युवायुवतीको सामाजिक हैसियतमा समेत वृद्धि भएको छ । गाउँबाट सहर झर्दा उनीहरूले 'पाखे'को हीनताभाव बोक्दैनन्, बरु सहर-बजारका तन्नेरीले भन्दा उच्च योग्यता देखाएका छन् ।

मेलापात र चुलोचौकोमा सीमित ग्रामीण महिलाहरू गोबर लत्पतिएका हातले कम्प्युटरका 'कि-बोर्ड' चलाइरहेका छन् । कम्तीमा युवा उमेरका महिलाहरू विदेशमा रहेका आफन्तलाई बिजुली हुलाकबाट चिठीपत्र लेख्नसक्ने भएका छन् । किशोरीहरू फुर्सदको उपयोग सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा झुम्मिन थालेका छन् । नागी गाउँका ३० वर्ष मुनिका अधिकांश युवायुवतीको इमेल/इन्टरनेटमा सहज पहुँच छ ।

'अरबमा रहेका श्रीमानलाई गाउँको विद्यालयमा जोडिएको कम्प्युटरबाट लेखेको चिठीलाई बिजुली हुलाकबाट पठाउन थालेको पनि १० वर्ष पुगेछ', राम्चे गाविस- १ की राममाया पुनले बताइन् । 'महावीरको कम्प्युटर' उत्तरी भेगका दुर्गम बस्तीका शिक्षक र तन्नेरी पुस्ताका लागि 'नशा'झैं लागेको छ । थोरै पाको पुस्ता र गृहिणीहरू पनि लाभान्वित भएका छन् । प्रविधि बुझ्न रुचि राख्नेलाई उमेरले छेक्दैन भन्ने राम्रो उदाहरण हुन्, नागीका पूर्वशिक्षक ६० वर्षे अमरबहादुर पुन । ५८ वर्षको उमेरबाट कम्प्युटरको आधारभूत सीप सिकेका पुनले अहिले कम्प्युटरको सामान्य सफ्टवेयरको विषयमा जानकारीमात्र होइन, सामाजिक सञ्जाल फेसबुकसमेत चलाउन सक्छन् । 'कम्प्युटर र इन्टरनेट आएपछि अरू धेरै कुरा नजाने पनि आफ्नो याहुको इमेल आईडी खोलेर चिठी लेख्ने र आएको इमेल पढ्ने भएकी छु । सबभन्दा ठूलो कुरो यो अनौठो वस्तु कम्प्युटर वा ल्यापटप यस्तै हुन्छ तथा यसरी खोल्नुपर्छ भन्ने जानेकी छु', राम्चे गाविस- २ नागीकी यामश्री फगामी पुनले बताइन् ।

गाउँ-गाउँका विद्यालयमा ऐच्छिक विषयको रूपमा कम्प्युटर अध्यापन गराउन थालिएको छ । स्थानीय हिमाञ्चल उच्च मावि र पाउद्वार माविले विगत ११ वर्षदेखि कम्प्युटर विषयमा दुई सय बढी विद्यार्थीले एसएलसी उत्तीर्ण गराएका छन् । यी विद्यालयबाट कम्प्युटर विषय लिएर एसएलसी उत्तीर्ण युवायुवतीले एनजीओ/आईएनजीओ, शिक्षक, सञ्चारमाध्यममा अवसर पाएका छन् । मेलापात, घाँस-दाउरा र गाईगोठ गर्दै गोबर लत्पतिएका हातले 'कि-बोर्ड' थिच्दै पढेको गाउँले तन्नेरी कम्प्युटर इन्जिनियर बन्नु आफैंमा उपलब्धि हो ।

'हामीले ०५८ सालदेखि कक्षा ८, ९ र १० मा कम्प्युटर विषयको अध्ययन सुरु गर्‍यौं । अहिले कक्षा १२ सम्म कम्प्युटर विषयको पढाइ हुन्छ । हाम्रो विद्यालयबाट कम्प्युटर विषय पढेकाहरू एउटा पनि बेरोजगार छैनन् । हाम्रा विद्यार्थीले छिमेकी गाउँका विद्यालयहरूमा कम्प्युटर शिक्षकका रूपमा अवसर पाएका छन् । कम्तीमा अरब गएकाले पनि इमेल गरी घरमा चिठीपत्र पठाउँछ', हिमाञ्चल उच्च माविका प्राचार्य रमन पुनले बताए ।

त्यतिमात्र हो र ! ताररहित इन्टरनेटको प्रवेशसँगै दुर्गम बस्तीको कठिन जीवनशैलीलाई केही सुधार ल्याउन नागी गाउँमा २४ सै घन्टा खुल्ला रहने टेलिमेडिसिन सेवा सञ्चालनमा छ । दुर्गम बस्तीमा टेलिमेडिसिन सेवा, कुरा सुन्दा पत्याउनै गाह्रो । भिडियो कन्प|mेन्सको माध्यमबाट पोखरा र काठमाडौंका डाक्टरले दिएको 'प्रेस्त्रिmप्सन'का आधारमा गाउँमा रहेका स्वास्थ्यकर्मीले बिरामीलाई औषधी दिन्छन् ।

गाउँमा एक स्वास्थ्यकर्मी राखी स्वास्थ्यचौकी चलाएको छ । सानातिना रोगको उपचार गाउँमै हुन्छ । गाउँमा उपचार गर्न नसकिने जटिल तथा आपत्कालीन अवस्थामा टेलिमेडिसिनको सहायता लिने गरिएको छ । टेलिमेडिसिनका लागि पोखरामा डाक्टरसँग परामर्श गर्दा बिरामीलाई पैसा लाग्दैन, तर औषधी दिएको चाहिँ न्यून शुल्क लगाइन्छ ।

कम्प्युटर शिक्षा र ताररहित इन्टरनेट पुगेपछि स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन इ-हाटबजार खोलिएको छ, ती गाउँमा । बदलभित्रका हिमाली गाउँका कृषि उत्पादनलाई बजार पुर्‍याउन इन्टरनेट हाटबजार सञ्चालनमा छ । इ-हाटबजारले भैंसी किन्न विभिन्न गाउँका गोठ-गोठ चहार्नु नपर्ने भएकाले ग्रामीण जनजीवन सहज हुँदै गएको छ ।

डाँडाकाँडामा पुर्‍याइएको ताररहित इन्टरनेटको लाभ दुर्गम पहाडी र हिमाली बस्तीका गाउँलेहरूमात्र होइन, हवाइजहाजमा पोखरा-जोमसोम ओहोर-दोहोर गर्ने सुकिला-मुकिलाले समेत लिएका छन् । महावीर पुनकै अगुवाइमा अन्नपूर्ण साउथ छेउमा अग्लो खम्बामा राखिएको बैसाला नामक यन्त्रले यस क्षेत्रमा बहने हावाको आदर्रता, शुष्कता, हावाको गति, पानीको मापन र सूर्योदय र सूर्यास्तको समयावधिलाई मापन गरिरहेको छ । स्वचालित क्यामेराले त्यस क्षेत्रको मौसमी तस्बिरलाई इन्टरनेटमा 'अपलोड' गरिरहेका छन् । स्वचालित यी उपकरणले निरन्तर इन्टरनेटमा सूचना उपलब्ध गराउने भएकाले जोमसोम र पोखरा विमानस्थलमा बसेर पोखरा-जोमसोम एयर

रुटको जलवायुको अनुगमन र विश्लेषण गर्ने गरिएको छ ।

प्रकाशित मिति: २०६८ श्रावण २१ १०:४७

Sunday, May 9, 2010

Funeral of Nepali Congress Leader Girija Prasad Koirala

This are some of the Photo features of Funeral Of Nepali Congress Leader Girija Prasad Koirala on 21 Mar 2010









Tuesday, November 24, 2009